म्याग्दी हिमाली जिल्लामा सूचीकृत, के हुन्छ फाइदा ?

म्याग्दी हिमाली जिल्लामा सूचीकृत, के हुन्छ फाइदा ?
म्याग्दीको पुनहिलबाट पृष्ठभूमिमा देखिएको धौलागिरी हिमशृङखला।तस्बिर : सन्तोष गौतम

बेनी : संसारको सातौं अग्लो धौलागिरीसहित दर्जनौं हिमशृङ्खला अवस्थित म्याग्दीलाई सरकारले हिमाली जिल्लामा सूचीकृत गरेको छ। म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०७५’ संघीय संसदको दुईवटै सदनबाट पारित गरेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो।

राजपत्रमा प्रकाशित भएपछि म्याग्दीले बैधानिक हिसाबले हिमाली जिल्लाको मान्यता पाएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताए। ‘यसअघि नेपालका ७७ मध्ये २० वटा मात्र हिमाली जिल्लाको सूचिमा थिए,’सांसद थापाले भने, ‘म्याग्दी हिमाली जिल्लाको २१ औं स्थानमा सूचिकृत भएको छ।’

हिमाली भू-भाग ओगटेका स्थानीय तहबाट आएको माग बमोजिम जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै राष्ट्रियसभाबाट फागुन १५ गते पारित भएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि फागुन १९ गतेको राजपत्रमा प्रकाशित भएको थियो।

हिमाली जिल्लाको मान्यताले वर्षौदेखि उठाउँदै आएको माग सम्बोधन भएकोमा खुसी लागेको धवलागिरी गाउँपालिका-१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए। संघीय संसदको बैठकमा विशेष समय लिएर सांसद भुपेन्द्र बहादुर थापा र गण्डकी प्रदेश सभामा सांसद विनोद केसीले हिमाली जिल्ला घोषणाका लागि म्याग्दीको हरेक आधार रहेको भन्दै सरकारको ध्यानकर्षण गराएका थिए।

हिमाली जिल्लाको फाइदा 
आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिनुपर्ने आवाज उठ्दै आएको थियो। हिमाल नजिकका बस्ती पहाडी भेगमा सूचिकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गमबस्तीका बासिन्दा बञ्चित थिए।

स्थानीय तहलाई संघीय र प्रदेश सरकारले दिने अनुदान र कर्मचारीको सेवा सुबिधा बढेर आकर्षित हुने वातावरण बन्ने जिसस प्रमुख देवेन्द्र केसीले बताए। ‘करिब आधा भू-भाग नै हिमाली क्षेत्रमा पर्ने म्याग्दीलाई पहाडी जिल्लामा पारिएका कारण बजेट बिनियोजनदेखि पर्यटन प्रवद्र्धनमा समेत प्रत्यक्ष असर परेको थियो,’ जिसस प्रमुख केसीले भने, ‘अब म्याग्दीको आफ्नै पहिचान स्थापित भयो।’

म्याग्दीमा रहेका हिमाल
धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको भुगोलमा धौलागिरि, अन्नपूर्ण प्रथमको आधार शिविर, निलगिरि, गुर्जा र चुरेन लगायतका हिमाल छन् । संसारकौ सातौं अग्लो आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकामा अवस्थित छ। धौलागिरी दोस्रो ७,६६१, धौलागिरी तेस्रो ७,७१५, धवलागिरी चौथो ७,६६१, धवलागिरी पाँचौ ७,६१८ र धौलागिरी छैटौ हिमाल ७,२६८ मिटर अग्ला छन्।

७,१९३ मिटर अग्लो गुर्जा हिमाल पनि म्याग्दी जिल्लाकै धौलागिरी गाउँपालिकामा पर्छ। ७,३८५ मिटर अग्लो चुरेन, ७,३७१ मिटर अग्लो चुरेन (पूर्व), ७,२४६ मिटर अग्लो पुथा म्याग्दीमा पर्छन्। ८,०९१ मिटर अग्लो अन्नपूर्ण पहिलो हिमालको एउटा भाग म्याग्दीको नारच्याङमा पर्छन् । निलगिरि हिमाल पनि म्याग्दीको नारच्याङ र मुस्ताङको सिमानामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार