अबको केहिबेरमा सुरु हुन्छ आज स्पेन र रसियाको भिडन्त, आयोजकलाई आफ्नै मैदानमा घुँडा टेकाउने स्पेनको यस्तो रणनीति

विश्वकप फुटवलमा आज पनि नकआउट चरणका दुई खेल हुँदैछन् । आजको खेलमा नेपाली समय अनुसार राती पौने आठ बजे रसिया र स्पेनबीच खेल हुन लागेको हो । रसिया समूह ‘ए’ को उपविजेता र स्पेन समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएका हुन् ।

समूह विजेताको रुपमा अघिल्लो चरणमा पुगे पनि स्पेनिस टिम लयमा भने देखिन सकेको छैन । समूह चरणका तीन खेलमा पाँच गोल खाएको स्पेनको विशेष गरी डिफेन्स लाइन र गोलकिपरको कमजोरीका कारण आफुलाई खरो रुपमा प्रस्तुत गर्न पाएको छैन ।

पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेलेको स्पेनले आज रसियासँग खेल्न लागेको हो । उसले पोर्चुगलसँग ३÷३ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा उसले इरानलाई १÷० ले हराएको थियो । स्पेनले तेस्रो खेलमा मोरक्कोसँग २÷२ को बराबरी गरेको थियो ।

विश्वकपमा अन्तिम १६ को खेलमा आयोजक रसियाविरुद्ध खेल्दा डिफेन्स नसुध्रिने हो भने स्पेनिस टिम निराश बन्न सक्ने धेरै जानकारहरुले आंकलन गरीरहेका छन् ।

स्पेनका प्रशिक्षक फर्नान्डो हिरेरो रसियाविरुद्ध खेल्ने सुरुवाती ११ मा पनि केही परिवर्तन गर्न खोजिरहेका छन् । मिडफिल्डमा कोकेलाई सुरुवातमै ल्याउने तयारी उनको छ । डेभिड सिल्भाले आश गरे अनुरुप खेल देखाउन नसकिरहेकाले उनको स्थानमा मार्को एसेन्सियोलाई सुरुदेखि नै खेलाउने तयारी पनि हिरेरोको छ ।

गोलकिपर डेभिड डेगाले गरेका सामान्य गल्ती सुधार हुनै पर्ने र टिमले उनीमाथि विश्वास राखेको उनको भनाइ छ । मिडफिल्डमा बुस्केट्सले एउटा पहेँलो कार्ड खाएकाले सम्हालिनुपर्ने देखिन्छ ।

स्पेन जारी विश्वकपमा सबैभन्दा राम्रो पास खेल्ने टिम पनि बन्न सफल भएको छ । २ हजार ८९ पास सही भएको स्पेनिस टिमविरुद्ध रसियालाई चुनौती पनि उनीहरुको पास गेम नै हो । साथै पोस्टमा भएका आक्रमण र गोलका अवसर पनि रसियाको भन्दा स्पेनको राम्रो देखिएको छ । स्पेनले समूह चरणमा ४२ पटक गोलका अवसर बनाएको थियो जुन रसियाको भन्दा २४ बढी हो ।

स्पेनले रसियासँगका पछिल्ला तीन खेलमा १० गोल गरेको छ । सबै गरेर स्पेनको पछिल्लो १५ खेलमा भएका १२ गोलमा इस्कोको प्रत्यक्ष भूमिका छ । जसमा उनले १० गोल गरेका छन् भने दुई गोलका लागि पास मिलाएका छन् ।

सन् १९९१ मा सोभियत युनियन टुक्रिएपछि रसियाले स्पेनलाई हराउन सकेको छैन । जसमा दुई खेल बराबरी गरेको छ भने चार खेल हारेको छ । गएको नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रसिया र स्पेनले ३÷३ गोलको बराबरी खेलेका थिए ।

विश्वकप सुरु हुनुअघि कमजोर मानिएको रसियाले समूह चरणमा आफ्नो क्षमता देखाइसकेको छ । अघिल्ला खेलबाट हौसिरहेको रसियाको झण्डै ८१ हजार दर्शक अट्ने मस्कोको लुजिन्की स्टेडियममा सामना गर्न स्पेनलाई सहज हुने छैन ।

रसियाले समूह चरणका तीन खेलमा आठ गोल गरेको थियो भने चार गोल खाएको थियो । समूह चरणमा पहिलो खेलमा साउदी अरेबियालाई ५÷० साथै दोस्रो खेलमा इजिप्टलाई ३÷१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३÷० ले पराजित भएको थियो ।

रसियाका इगर स्मोलिन्कोभले समूह चरणको अन्तिम खेलमा उरुग्वेविरुद्ध रातो कार्ड पाएकाले उनी स्पेनसँगको खेलमा हुने छैनन् । उनको स्थानमा मारियो फर्नान्डेसलाई खेलाइँदै छ । एलेक्जेण्डर गोलोभिन, फेडर स्मोलोभ र युरी गजिन्स्की तीनै जनाले एउटा एउटा पहेँलो कार्ड पाएका छन् ।

यो सँगै आजको दोस्रो खेलमा क्रोएशिया र  डेनमार्कबीच खेल हुनेछ । आजको दोस्रो खेल नेपाली समय अनुसार राती पौने १२ बजेबाट सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार