सालेहले यसरी जिताए लिभरपुललाई

च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई पराजित गरेको छ।

उसका लागि साल्जबर्गमाथिको ४-३ को जित सहज भने भएन। एक समय ३-० को स्पष्ट अग्रता कायम गरेको अवस्थामा खेल ३-३ को बराबरीमा पुगेपछि लिभरपुलका लागि यो जित संघर्षपूर्ण बन्न पुगेको थियो।

यसमा जितको नायक मोहम्मद सालेह बने। उनले टोली ३-३ को बराबरीमा रहेको अवस्थामा खेलको ६९ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए र महत्वपूर्ण ३ अंक जोडे।

यस खेलमा उनले दुई गोल गरे।

खेल संघर्षपूर्ण अवस्थामा पुग्नुअघि लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा पहिलो अग्रता लिएको थियो। त्यसपछि लिभरपुलले खेलको २५ तथा ३६ औं मिनेटमा गोल गर्‍यो र आफ्नो अग्रतालाई ३-० को अवस्थामा पुर्‍यायो। ती गोलहरू क्रमशः एन्ड्रिउ रोबर्टसन र सालेहले गरेका थिए।

तर उसको सो अग्रतालाई साल्जवर्गले खेलको ३९, ५६ र ६० औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। उसका लागि ती गोलहरू क्रमशः चान ह्वाङ, ताकुमी मिनामिमो र अर्लिङ ब्राउट हल्यान्डले गरे।

यसरी नतिजा बराबरीमा पुगेपछि सहज अवस्थाबाट कठिन अवस्थामा पुगेको लिभरपुललाई सालेहले खेलको ६९ औं मिनेटमा गोल गर्दै जित दिलाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार